skip to Main Content

सन् २०१५: प्रदूषणका कारण ९० लाखको मृत्यु

एउटा नयाँ अन्तर्राष्ट्रिय अध्ययनले सन् २०१५ मा विश्वभर प्रदूषणसँग सम्बन्धित ९० लाख अकाल मृत्युका घटना भएको जनाएको छ।

ल्यान्सेट जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनले विश्वभर प्रदूषणसँग सम्बन्धित मुटु रोग र मस्तिष्कघातसम्बन्धी तथ्याङ्कलाई विश्लेषण गरिएको जनाएको छ।

प्रभावित
प्रदूषणसंग सम्बन्धित अकाल मृत्युका लगभग धेरै जसो घटना न्यून र मध्यम आय भएका मुलुकमा भएका छन्।

ती मुलुकमा हुने मृत्युमध्ये एक चौथाईको कारण प्रदूषणसँग सम्बन्धित रोग भएको देखिएको छ।

बांग्लादेश र सोमालिया प्रदूषणबाट सबैभन्दा नराम्ररी प्रभावित भएको उक्त अध्ययन प्रतिवेदनमा उल्लेख छ।

प्रदूषणका कारण धेरै मृत्यु हुने मुलुकहरुको सूचीमा भारत पाँचौं र नेपाल छैठौं स्थानमा छ।

ब्रुनेइ र स्वीडेनमा प्रदूषणसँग सम्बन्धित मृत्युका सबैभन्दा कम घटना हुने गरेको छ।

स्रोत
अधिकांश मृत्युहरु मुटु रोग, मस्तिष्कघात र फोक्सोको क्यान्सर जस्ता नसर्ने रोगका कारण भएको उक्त अध्ययन प्रतिवेदनले जनाएको छ।

अध्ययन अनुसार सन् २०१५ मा वायु प्रदूषणका कारण विश्वभर ६५ लाखको अकाल मृत्यु भएको थियो।

त्यसमा ग्यास जस्ता वायु प्रदूषणका बाह्य स्रोत र दाउरा वा कोइला बाल्दा घरभित्र हुने आन्तरिक स्रोतलाई समेटिएको छ।

वायु प्रदूषणपछि अकाल मृत्यु गराउने दोस्रो ठूलो कारण पानीसँग सम्बन्धित प्रदूषण रहेको छ जसका कारण सन् २०१५ मा विश्वभर १८ लाख मानिसको ज्यान गएको थियो।

त्यसैगरी कार्यस्थलमा प्रदूषणसँग सम्बन्धित ८ लाख मृत्युका घटना भएको सो अध्ययन प्रतिवेदनमा उल्लेख छ।

Back To Top
Translate this site »