skip to Main Content

यस्तो छ मुटुमा वायुप्रदूषणले गर्ने असर


सानो मात्रामै भए पनि निरन्तर रूपमा वायुप्रदूषण भोगेका मानिसहरूको मुटुमा हुने परिवर्तन हृदयाघातका प्रारम्भिक चरणमा देखिने जस्तै भएको विज्ञहरूले बताएका छन्।

यूकेमा चार हजार जनामा गरिएको एउटा अध्ययनले चर्को आवाज आउने व्यस्त सडकछेउछाउ बस्ने मानिसहरूको मुटु औसतमा कम प्रदूषण भएको क्षेत्रमा बस्नेको भन्दा ठूलो भएको पत्ता लगाएको छ।

यस अध्ययनमा समेटिएका मानिसहरू यूकेको प्रदूषणको स्तरको निर्देशिकाले तोकेभन्दा कम प्रदूषण हुने स्थानका निवासी हुन्।

अनुसन्धानकर्ताहरूले तत्काल वायुप्रदूषणको स्तर कम गर्न सरकारलाई आह्वान गरेका छन्।

. वायुप्रदूषणको स्तर सुधार्न आह्वान

. १४ भारतीय सहर अतिप्रदूषित सूचीमा

लन्डनस्थित क्वीन मेरी विश्वविद्यालयका वैज्ञानिकहरूको एउटा टोलीले मुटुको समस्या नभएका मानिसहरूको स्वास्थ्यसम्बन्धी तथ्याङ्क विश्लेषण गरेका थिए।

त्यसपछि अनुसन्धानकर्ताहरूले ती मानिसहरू बस्ने स्थानको प्रदूषणको स्तरबारे पनि जाँच गरे।

प्रभाव

सो अध्ययनले उच्च प्रदूषणको स्तरको सीधा सम्बन्ध मुटुका दाहिने र देब्रे भेन्ट्रिकलको आकारसँग रहेको पत्ता लगाएको छ।

पीएम २.५ भनिने प्रदूषक तत्त्व प्रतिघनमिटर एक माइक्रोग्रामले बढ्दा तथा नाइट्रोजन डाइअक्साइड प्रतिघनमिटर १० अतिरिक्त माइक्रोग्रामले बढ्दा मुटुको आकार एक प्रतिशतले वृद्धि हुन्छ।

अध्ययनको तथ्याङ्क विश्लेषणको नेतृत्व गरेका चिकित्सक ने अङका अनुसार यो भनेको निरन्तर निष्क्रिय रहेको वा उच्च रक्तचाप भएको अवस्थाको असरसँग तुलनायोग्य छ।

उनका अनुसार वायुप्रदूषणलाई समाधान गर्न सकिने जोखिम कारकको रूपमा हेरिनुपर्छ।

चिकित्सक र साधारण मानिस सबैले आफ्नो स्वस्थ मुटुका निम्ति उच्च रक्तचाप, कोलेस्ट्रोल र तौल जस्तै आफू बस्ने स्थानको सम्बन्धमा पनि सचेत हुन आवश्यक रहेको उनी बताउँछन्।

अध्ययनमा मानिसहरू बसोबास गर्ने वास्तविक स्थान समावेश गरिएको छैन। तर प्राय: मानिसहरू यूकेका प्रमुख सहरभन्दा बाहिरका रहेका थिए जहाँ पीएम २.५ को स्तर त्यहाँको तोकिएको स्तरभन्दा कमै थियो।

उक्त अध्ययनमा सहयोग गरेको ब्रिटश हार्ट फाउन्डेशनले सरकार र सार्वजनिक स्वास्थ्य निकायहरूले वायु गुणस्तर सुधार गर्न तत्काल कदम चाल्नुपर्ने सुझाव दिएको छ।

प्रदूषणबाट जोगिने पाँच उपाय

. व्यस्त सडकभन्दा टाढै बस्ने – गाडीको ठूलो चाप हुने ठाउँमा प्रदूषण पनि धेरै हुन्छ

. मूल बाटोबाहेकका सहायक मार्ग प्रयोग गर्ने – ती मार्गहरू तुलनात्मक रूपमा सफा हुन्छन् र तिनमा गाडीको चाप पनि कम हुन्छ

. प्रदूषित वायु भएका ठाउँ चिन्ने – ट्राफिक स्थिर हुँदा इन्जिन प्राय: खुल्लै हुन्छन्। त्यसो हुँदा विशेष गरेर ट्राफिक बत्तीछेउछाउ ‘प्रदूषणको खहरे’ नै बन्छ। त्यसैले बाटो काट्ने बेला विचार गर्नुपर्छ

. उकालोमा गाडीहरू ओर्लिँदै गरेपट्टि हिँड्ने – त्यसो गर्दा धूँवाबाट जोगिन सकिन्छ। यो नै उपयुक्त विकल्प हो

. मुख छोप्ने सामान्य मास्क खासै प्रभावकारी हुँदैन, विशेष खालका मास्क झन्झटिलो हुन्छ। बरु व्यस्त सडक प्रयोग नगर्ने सल्लाह वैज्ञानिकहरूको छ

Back To Top
Translate this site »