skip to Main Content

बन्दागोभीको तरकारी यसकारण हुन्छ घातक


भूमिका राय /बीबीसी

आठ वर्षीया बालिकाको दिमागमा किराको सयभन्दा बढि अण्डा ।

आमा–बुवाले बुझ्न सकेका थिएनन्, आखिर उनकी छोरीलाई दैनिक अत्यधिक टाउको दुख्छ ।

लगभग ६ महिनादेखि यस्तो चलिरहेको थियो तर जब यसको कारण पत्ता लाग्यो तब उनीहरुलाई विश्वास नै लागेन ।

‘बालिकाको दिमागमा टेपवर्मका सयभन्दा बढि अण्डा थिए जुन दिमागमा स–सानो ढिक्काको रुपमा देखिएका थिए ।’

गुडगावस्थित फोर्टिस अस्पतालमा न्यूरोलोजी डिपार्टमेन्टका निर्देश डा. प्रविण गुप्ताको रेखदेखमा यी बालिकाको उपचार भइरहेको छ ।

डा. गुप्ता भन्छन्, ‘हाम्रो आउनुअघि पनि उनको उपचार भइरहेको थियो । उनलाई अत्यधिक टाउको दुख्ने गरेको बताइएको छ । उनको दिमाग सुन्निएको उपचार भइरहेको थियो ।’

बालिकाको सुन्निएको दिमागलाई कम गर्नका लागि स्टेरोइड दिन थालिएको थियो । जसका कारण आठ वर्षकी बालिकाको तौल ४० बाट ६० किलो भयो ।

तौल बढेपछि समस्या झन् थपियो । हिँड्न–डुल्न समस्या हुनथाल्यो । सास फेर्न पनि समस्या भयो । उनी पूर्ण रुपमा स्टेरोइडमा निर्भर भइसकेकी थिइन् ।

बालिकालाई डा. गुप्ताको अस्पतालमा ल्याएपछि उनको सिटी–स्क्यान गराइयो । त्यसपछि उनको रोग पत्ता लाग्यो – न्यूरोसिस्टिसेरसोसिस ।

डा. गुप्ता भन्छन्, ‘यहाँ ल्याउँदा बालिका बेहास थिइन् । सिटि स्क्यानमा सेतो दाग देखिएको थियो जुन टेपवर्मका अण्डा थिए । त्यो पनि एक वा दुई नभई सयभन्दा बढि ।’

डा. गुप्ताले बालिकाको दिमागमा अत्यधिक प्रेसर भएको पाए । अण्डाले उनको दिमागलाई यति प्रेसर दिएको थियो कि उनको दिमागले काम गर्न बन्द गरेको थियो ।

डा. गुप्ता भन्छन्, ‘सबैभन्दा पहिले त हाम्रो औषधीमार्फत उनको दिमागको प्रेसर कम गर्यौं । त्यसपछि उनलाई सिस्ट मार्ने औषधी पनि दिइयो । यो निकै खतरनाक पनि हुन्छ किनभने यतिबेला दिमागको प्रेसर पनि बढ्नसक्छ ।’

अहिले अण्डालाई नष्ट गर्ने पहिलो औषधी बालिकालाई दिइएको छ तर अहिले सबै अण्डा नष्ट भएका छैनन् ।

डा. गुप्ताका अनुसार दिमागमा यी अण्डा लगातार बढिरहन्छन् । यी अण्डाले नै दिमाग सुन्निएको थियो ।

तर दिमागसम्म कसरी पुग्यो अण्डा ?

डा. गुप्ताका अनुसार कुनै आधा पाकेको खानेकुरा सफा नगरी खाँदा त्यो टेपवर्म पेटसम्म पुग्छ । त्यसपछि रगतको प्रवाहसँगै शरिरका विभिन्न भागमा पुग्ने गर्छ ।

के हो टेपवर्म ?

टेपवर्म एक प्रकारको परजीवी हो । यो आफ्नो पोषणका लागि अरुमा निर्भर हुने जीव हो । त्यसकारण यसलाई शरिर भित्र पाइन्छ । यसको मेरुदण्ड हुँदैन ।

यसका पाँचहजारभन्दा बढि प्रजाती पाइन्छन् । यो एक मिमिदेखि १५ मिटरसम्म लामो हुनसक्छ । यसको शरिर खण्डमा बाँडिएको हुन्छ ।

यसको शरिरमा हुकजस्तो संरचना हुन्छ जसका कारण यो आफ्नो आश्रयदाताको अंगसँग टाँस्सिरहन्छ । शरिरमा भएको क्युटिकलको मद्दतले यसले आफ्नो खाना लिन्छ ।

कसरी फैलन्छ यो ?

यदि टेपवर्मको अण्डा शरिरभित्र प्रवेश गर्छ तब यसले आन्द्रामा आफ्नो घर बनाउँछ । यद्यपी, यो सधैंभरी आन्द्रामा नै हुन्छ भन्ने छैन । रगतसँगै यो शरिरको अन्य भागमा पनि पुग्ने गर्छ ।

फोक्सोमा पुगेपछि यसले सिस्ट बनाउने गर्छ । थुप्रै पटक यो आँखामा वा दिमागमा पुग्ने गर्छ ।

यसको खतरा एशियामा भन्दा युरोपमा कम हुन्छ । एनएचएस अनुसार शरिरमा टेपवर्म प्रवेश गर्नेबित्तिकै केही लक्षण देखिन्छ भन्ने हुँदैन । यो शरिरका केही अति–संवेदनशील अंगमा पुग्ने गर्छ जुन अत्यधिक खतरा हुन्छ ।

यद्यपी, यसको उपचार पनि सजिलो छ । दिल्लीस्थित सर गंगाराम अस्पतालमा ग्यास्ट्रोलोजिस्ट डा. नरेश बंसल अनुसार टेपवर्म घातक हुँदैन तर यसलाई नजरअन्दाज गर्नु खतरनाक हुनसक्छ ।

टेपवर्मका कारणः

– आधा पाकेको र काँचो सुँगुर–बंगुरको मासु खाँदा, आधा पाकेको वा काँचो माछा खाँदा । वास्तवमा, यी जीवमा टेपवर्मको लार्भा हुन्छन् । त्यसकारण यी खानेकुरालाई राम्रोसँग पकाएर नखाँदा शरिरमा टेपवर्म प्रवेश गर्ने गर्छ ।

– दूषित पानी पिउँदा

– बन्दागोभी, पालुङ्गोलाई यदि राम्रोसँग पकाएर नखाँदा पनि टेपवर्म शरिरमा पुग्न सक्छ ।

टेपवर्म संक्रमणका लक्षणः

साधारणतया यसका कुनै सटिक लक्षण देखिँदैन तर टेपवर्म शरिरमा छ भने दिसा–पिसाबबाट थाहा हुन्छ । यसका साथै पेट दुख्नु, झाडा लाग्नु, कमजोरी र बान्ता हुनु, अनियमित भोक यसका प्रमखु लक्षण हुन् ।

यदि शरिरमा टेपवर्मको संख्या वा अण्डाको संख्या अत्यधिक छ भने रिंगटा लाग्ने, छाला पहेंलो हुने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिने गर्छ ।

बच्ने उपायः

टेपवर्म एकपटक शरिरमा प्रवेश गरेपछि यसलाई औषधीको मद्दतले मात्र छुटकारा पाउन सकिन्छ । तर केही सावधानी अपनाउँदा यसको संक्रमणबाट बच्न सकिन्छ ।

– जुनसुकै मासुलाई राम्रोसँग पकाएर मात्र खाने

– सागसब्जी, फलफूललाई राम्रोसँग केलाएर र पखालेर मात्र खाने

– खाना खानुअघि हात धुने । शौचालय गएपछि राम्रो सँग हात र नङहरु सफा गर्ने

– सधैं सफा पानी पिउने

Back To Top
Translate this site »