skip to Main Content

धुलो–धुवा नियन्त्रण गर्न प्रधानमन्त्री कार्यालय आफै अघि सर्यो

Source: दृष्टिन्यूज
काठमाडौं ११ चैत्र ।
काठमाडौं उपत्यकाको धुवाँ–धूलो नियन्त्रण गर्न वातावरण मन्त्रालय र काठमाडौं महानगरपालिकाले असफल भएपछि प्रधानमन्त्री कार्यालयले विशेष अग्रसरता लिँदै धुलो–धुवा नियन्त्रणका प्रभावकारी उपाय खोज्ने भएको छ । प्रधानमन्त्री कार्यालयले मातहतका निकायलाई १५ बुँदे निर्देशन जारी गर्दै एक साताभित्रमा धुलो नियन्त्रण गर्न आयोजना तथा धुलो उत्सर्जन गरिरहेको सडक खण्डलाई नै तोकेर निर्देशन दिएको हो । प्रम कार्यालयको निर्देशनसँगै अब धुलो नियन्त्रण प्रभावकारी हुने देखिएको छ ।
प्रधानमन्त्री कार्यालयले जारी गरेको निर्देशनमा मेलम्ची खानेपानी विस्तारका कारण खनिएको सडक, विभिन्न स्थानमा भएका सडक विस्तार तथा मर्मतको कार्यप्रगतिदेखि धुलो नियन्त्रणका लागि आवश्यक निर्देशन दिइएको छ ।

प्रधानमन्त्री कार्यालयले जारी गरेको निर्देशनमा ति कार्यहरुको अनुगमन समेत प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गर्ने जनाइएको छ । प्रधानमन्त्री कार्यालयका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालको नेतृत्वमा बसेको विशेष  समितिको बैठकले यस्तो निर्देशन दिएको हो ।
विशेष समितिको पहिलो बैठकले भौतिक पूर्वाधार तथा यातायात र जलस्रोत, ऊर्जा, सूचना तथा सञ्चार र खानेपानी मन्त्रालयलाई समन्वय हुन नसकेका परियोजनाबारे प्रतिवेदन दिन निर्देशन समेत दिएको छ ।
यस्तै, समितिले सर्वोच्च अदालतले विभिन्न परियोजनामा अहिलेसम्म जारी गरेका आदेशहरु उपलब्ध गराउन सडक विभागलाई निर्देशन दिएको छ । त्यसैगरी, प्रधानमन्त्री कार्यालयले काम नगर्ने, काममा ढिलाई गर्ने तथा भ्रष्टाचार गरेर गतिलो काम नगर्ने ठेकेदारहरुको विवरण उपलब्ध गराउन विभाग, खानेपानी विभाग, मेलम्ची खानेपानी लगायतका निकायलाई निर्देशन दिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले पैदलयात्रुका लागि भनी छुट्याइएका फुटपाथहरु तत्काल खाली गराउन र फुटपाथमा कुनै पनि हालतमा कुनै पनि सामग्री नराख्ने व्यवस्था गर्न समितिले महानगरहरु, ट्राफिक प्रहरी महाशाखाको नाममा निर्देशन दिएको छ ।

Back To Top
Translate this site »